
दैलेख, २४ साउन ।
दैलेखको ठाटीकाँध गाउँपालिकामा बेवारिसे अवस्थामा छाडिएको एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
इलाका/प्रहरी चौकी ठाटीकाँधबाट खटिएको गस्ती टोलीले साउन २४ गते साँझ ८:३० बजेको समयमा गस्ती गर्ने क्रममा उक्त भरुवा बन्दुक फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ठाटीकाँध गाउँपालिका वडा नं. १ स्थित सिम्ली मालुकोट सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा राखिएको १ थान भरुवा बन्दुक फेला परेको हो।
बरामद गरिएको बन्दुकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने उक्त बन्दुक कसको हो र कसले छाडेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनले जानकारी दिनुभयो।

