
आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुपस्थित भएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
मङ्गलवार बसेको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता जस्तो संवेदनशील विषयमा छलफल चलिरहँदा सम्बन्धित मन्त्री नै अनुपस्थित भएपछि सांसदहरूले नियमापत्ति जनाएका थिए।
अर्थमन्त्री नआएसम्म छलफल नहुने अडान
विशेष समय लिएर बोल्दै नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री आफैँ उपस्थित हुनु अनिवार्य रहेको जिकिर गरे। उनले अर्थमन्त्री उपस्थित नभएसम्म छलफल अगाडि बढ्न नसक्ने अडान राखेका थिए।
सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्रीलाई खबर पठाइसकिएको जानकारी दिँदै मन्त्री नआइपुगुञ्जेल आफ्नो धारणा राख्न आग्रह गरे पनि सांसद राईले मन्तव्य राख्न अस्वीकार गरे। सांसदहरूको लगातारको विरोध र अडानपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्ने घोषणा गरे।
'मन्त्रीको अनुपस्थिति संसदीय गरिमा विपरीत'
यसअघि छलफलमा भाग लिँदै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि अर्थमन्त्रीको अनुपस्थितिमा विनियोजन विधेयकमाथि छलफल हुनु संसदीय गरिमा विपरीत भएको भन्दै आपत्ति जनाए। सोही क्रममा उनले चुरे क्षेत्रको संरक्षण हुन नसक्दा तराई मधेसमा पानीको संकट गहिरिँदै गएको प्रति सरकारको ध्यानाकर्षण समेत गराए।
त्यस्तै, सांसद रेखाकुमारी यादवले पनि अर्थमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै सभामुखको ध्यानाकर्षण गराइन्। उनले आगामी बजेटमा उच्च प्रतिफल दिने आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने, वैदेशिक सहयोग र ऋणका सम्बन्धमा नीति स्पष्ट हुनुपर्ने र कुन क्षेत्रमा वैदेशिक सहायता लिने भन्नेबारे सरकारले प्रष्ट खाका ल्याउनुपर्ने सुझाव दिइन्।



