
सुर्खेत | १६ साउन
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएर पदभार सम्हालेको तीन दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन। सत्ता साझेदार दलहरूबीच मन्त्रालयको संख्या र जिम्मेवारी बाँडफाँटमा सहमति नजुट्दा सरकार विस्तार अन्योलमा परेको हो।
मुख्यमन्त्री शाहीले साउन १३ गते शपथ लिएसँगै अन्य मन्त्रीहरूको नियुक्ति गर्ने तयारी गरे पनि मन्त्रालय भागबन्डाको विवादका कारण प्रक्रिया अघि बढ्न सकेको छैन।
एमालेको अडान र भागबन्डाको पेच
सत्ता गठबन्धनका दलहरूबीच लगातार छलफल भइरहे पनि सहमति नबन्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ। स्रोतका अनुसार सत्ता साझेदार दल नेकपा एमालेले आफूले रोजेका चार मन्त्रालय पाउनुपर्ने अडान राखेको छ। यही विषयमा दलहरूबीच सहमति जुट्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको बताइएको छ।
अब दलहरूबीचको वार्ता निष्कर्षमा पुगेपछि मात्रै नयाँ मन्त्रीहरूको नियुक्ति हुने अपेक्षा गरिएको छ। कर्णाली सरकारले कहिले र कसरी पूर्णता पाउँछ भन्ने विषय अहिले राजनीतिक वृत्तका साथै आम सर्वसाधारणको चासोको केन्द्र बनेको छ।



