
काठमाडौं — गगन थापा ले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएका हुन्। यस विषयमा अन्तिम निर्णय शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले गर्ने जनाइएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि थापाले राजीनामा दिने निर्णय गरेका हुन्। यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका उनी यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए, जहाँ उनलाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गरेका थिए।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य सफलता हासिल गर्दा नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्रै जितेको छ।
निर्वाचनपछि थापामाथि राजीनामा नदिन पार्टीभित्रबाट दबाब र सुझाव आए पनि अन्ततः उनले पद त्याग्ने निर्णय लिएका हुन्। उनी यसअघि विशेष महाधिवेशनमार्फत सर्वसम्मत रूपमा सभापति चयन भएका थिए।
👉 अब थापाको राजीनामाबारे अन्तिम निर्णय पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ।



