
काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौँ उपत्यकाको आवागमनलाई सहज बनाउने नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै यसलाई ‘दूरदृष्टि, अटल अठोट र नीतिगत निरन्तरताको प्रतीक’ को रूपमा चित्रण गर्नुभएको छ।
हाल चीनको बेइजिङ भ्रमणमा रहनुभएका खनालले एक वक्तव्य जारी गर्दै दशकौँदेखि काठमाडौँ छिर्ने र बाहिरिने नागढुङ्गाको सास्ती तथा अन्तहीन ट्राफिक जामको पीडालाई सम्झनुभएको छ। राष्ट्रको प्रगति राजनीतिक परिवर्तनले मात्र नभई जनजीवन सहज बनाउने पूर्वाधार निर्माणबाट सम्भव हुने उल्लेख गर्दै उहाँले सुरुङमार्गको सुरुवात आफ्नै कार्यकालबाट भएको दाबी गर्नुभयो।
कार्यभार सम्हालेकै दिन पहिलो निर्णय
खनालका अनुसार वि.सं. २०६७ माघ २३ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन उहाँले हस्ताक्षर गरेको पहिलो फाइल नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणसँग सम्बन्धित थियो।
"२०६७ माघ २७ गते बसेको मन्त्रिपरिषद्ले यस आयोजनालाई स्वीकृत गर्यो। त्यसपछि वि.सं. २०६८ मा नीतिगत रूपमा अघि बढाउने निर्णय गरी आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत आवश्यक रकम विनियोजन गरिएको थियो," पूर्वप्रधानमन्त्री खनालले वक्तव्यमा भन्नुभएको छ, "आज त्यसबेला गरिएको दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भएको छ।"
सामूहिक प्रयास र निरन्तरताको फल
राष्ट्र निर्माण कुनै एक व्यक्ति वा एउटा सरकारको प्रयासबाट मात्र सम्भव नहुने भन्दै उहाँले यो आयोजना सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न समयका सरकार, प्राविधिक, निर्माणकर्मी, कर्मचारी तथा विशेष गरी सहयोगदाता जापान सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ।
उहाँले यो सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युगको सुरुवात गरेको बताउनुभयो। यस आयोजनाले सुरक्षित र द्रुत यातायात प्रणालीको विकास मात्र नगरी राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण, पर्यटन प्रवर्द्धन र समग्र देशको विकास यात्रालाई नयाँ गति दिने विश्वास खनालले व्यक्त गर्नुभएको छ।



