
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. ओजस्वी शेरचन निर्वाचित हुनुभएको छ।
शुक्रबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै शेरचनले बाजी मार्नुभएको हो। सत्ता समीकरण र दलीय शक्ति सन्तुलनका बीच भएको यो निर्वाचनलाई निकै चासोका साथ हेरिएको थियो।
एमाले उम्मेदवार बराललाई नेपाली कांग्रेस र नेकपाको समर्थन रहे तापनि आवश्यक मत प्राप्त गर्न नसक्दा उहाँ पराजित हुनुभएको हो। निर्वाचन प्रक्रियाको अध्यक्षता समितिका ज्येष्ठ सदस्य महावीर पुनले गर्नुभएको थियो।
नवनियुक्त सभापति डा. शेरचनले अब शिक्षा, स्वास्थ्य र सूचना प्रविधि जस्ता महत्त्वपूर्ण क्षेत्रको संसदीय निगरानी र नीति निर्माणको नेतृत्व गर्नुहुनेछ। रास्वपाका लागि संसदीय समितिमा यो एक महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।



