
सुर्खेत/कर्णाली:
विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्दै देश तथा कर्णाली प्रदेशको नाम विश्वसामु उच्च राख्न सफल तेक्वान्दो खेलाडी प्रबिन बयक नगदसहित सम्मानित भएका छन्।
बयकको निरन्तरको मेहनत, खेलप्रतिको अनुशासन, समर्पण र अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको महत्वपूर्ण योगदानको कदर गर्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले उनलाई रु. १ लाख १० हजार नगद र सम्मानपत्रसहित सम्मान गरेको हो। उक्त सम्मान कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्रीले एक विशेष कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो।
कर्णालीको खेलकुद क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल बयक कुशल खेलाडीका साथै तेक्वान्दो प्रशिक्षक तथा निर्णायक (रेफ्री) का रूपमा पनि खेलकुद विकासमा निरन्तर सक्रिय रहँदै आएका छन्। सानै उमेरदेखिको अथक संघर्ष र समर्पणका कारण उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको झण्डा फहराउने अवसर प्राप्त गरिसकेका छन्।
सम्मान ग्रहण गरेपछि खेलाडी प्रबिन बयकले यो सफलता आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई गुरु, प्रशिक्षक, अभिभावक, सहकर्मी र सम्पूर्ण शुभेच्छुकहरूको माया र सहयोगको प्रतिफल भएको बताए। साथै, आगामी दिनहरूमा कर्णालीबाट नयाँ प्रतिभाहरू उत्पादन गर्न र नेपाली तेक्वान्दोको श्रीवृद्धिमा थप सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
बयकले प्राप्त गरेको यो सम्मानले कर्णालीका उदीयमान नयाँ पुस्ताका खेलाडीहरूलाई खेलकुदमा भविष्य बनाउन र थप मेहनत गर्न ठूलो प्रेरणा मिल्ने विश्वास लिइएको छ।



