
दैलेख — कर्णालीका प्रतिभाशाली तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी प्रबिन बयकलाई महाबु गाउँपालिका, दैलेखले नगद रु ५०,००० सहित सम्मान गरेको छ।
गाउँपालिकाले खेलकुदमार्फत महाबु गाउँपालिका तथा समग्र कर्णाली प्रदेशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै बयकलाई सम्मान गरेको हो। सम्मानस्वरूप उनलाई सम्मान–पत्रसहित नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
सानैदेखि कडा मेहनत, अनुशासन र लगनशीलतासहित तेक्वान्दो खेलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका बयक युवा पुस्ताका लागि प्रेरणाको स्रोत बन्दै आएका छन्। खेलप्रतिको उनको समर्पण, संघर्ष र उपलब्धिले गाउँपालिका मात्र नभई समग्र कर्णाली प्रदेशकै गौरव बढाएको उल्लेख गरिएको छ।
महाबु गाउँपालिकाले यस्ता प्रतिभावान खेलाडीको सम्मानले खेल क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, यस सम्मानले खेलाडी बयकलाई आगामी दिनमा अझ उत्साह र आत्मविश्वासका साथ देश तथा प्रदेशको नाम उच्च बनाउन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय तहसम्म आफ्नो प्रतिभा प्रदर्शन गर्दै आएका बयकलाई प्राप्त यस महत्वपूर्ण सम्मानका लागि शुभेच्छुकहरूले बधाई व्यक्त गरेका छन्। उनको आगामी खेल यात्रा अझ सफल, उज्ज्वल र प्रेरणादायी बन्ने विश्वास गरिएको छ।



