
सुर्खेत, पुस १
कर्णाली प्रदेशमा आज मौसम सामान्य रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेशमा कुनै प्रभावकारी मौसमी प्रणाली सक्रिय नरहेकाले अधिकांश स्थानमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहनेछ।
विशेष स्रोतका अनुसार पश्चिमी वायुको सामान्य प्रभावका कारण कर्णालीका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली देखिन सक्ने भए पनि ठूलो वर्षा वा हिमपातको सम्भावना छैन। तर उच्च हिमाली क्षेत्रमा बिहान र बेलुकाको समयमा चिसो अत्यधिक बढ्ने देखिएको छ।
प्रदेशका सुर्खेत, दैलेख, जाजरकोटलगायत मध्य पहाडी जिल्लामा बिहानको तापक्रम घट्दै गएको छ भने राति कुहिरो लाग्ने सम्भावना रहेको विशेष स्रोतले जनाएको छ। जुम्ला, मुगु, डोल्पा र हुम्लाजस्ता उच्च हिमाली जिल्लामा चिसोका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म कर्णाली प्रदेशमा वर्षा वा हिमपातको उल्लेखनीय सम्भावना नरहे पनि चिसो क्रमशः बढ्दै जाने देखिन्छ। त्यसैले चिसोबाट बच्न न्यानो कपडाको प्रयोग गर्न तथा बिहान–साँझ यात्रा गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।



