
सुर्खेत — जिल्ला प्रहरी कार्यालय सुर्खेतले आ.व. २०८०/०८१ को असार महिनामा सम्पादित आफ्ना विविध कार्य तथा उपलब्धिहरूको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरी नायब उपरीक्षक (प्रवक्ता तथा सूचना अधिकारी) कविन्द्र सिंह वोहराद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार असार महिनाभर अपराध अनुसन्धान, शान्ति सुरक्षा, राजस्व सङ्कलन तथा जनचेतनामूलक कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गरिएको छ।
१. अपराध अनुसन्धान तथा नियन्त्रण
कुल मुद्दा दर्ता र फछ्र्यौट: असार महिनामा कुल ७६ वटा मुद्दा दर्ता भएका छन् भने ७२ वटा मुद्दा फछ्र्यौट गरिएका छन्।
पक्राउ र फरार: विभिन्न अपराधमा संलग्न कुल ५४ जना पक्राउ परेका छन् (पुरुष ५१, महिला २, बालक १)। यस्तै २४ जना प्रतिवादी अझै फरार रहेका छन्।
गम्भीर तथा जघन्य अपराध: महिनाभर ३ वटा गम्भीर मुद्दा दर्ता भई २ वटा फछ्र्यौट भएका छन् भने १४ वटा जघन्य अपराधका मुद्दा दर्ता भई १३ वटा फछ्र्यौट भएका छन्।
बैंकिङ कसुर तथा आर्थिक अपराध: बैंकिङ कसुरमा १६ वटा मुद्दा दर्ता भएकोमा २ वटा फछ्र्यौट भएका छन्।
लागूऔषध नियन्त्रण: लागूऔषध सम्बन्धी १३ वटा मुद्दा दर्ता भएका छन् भने २० जना पक्राउ परेका छन्। प्रहरीले २४ ग्राम ८५ मिलीग्राम खैरो हिरोइन, NITRAZPAM १० लेखिएको २० पिस खुल्ला ट्याब्लेट, 'Bullford' लेखिएका क्याप्सुल ५ वटा र अन्य हरियो रङको क्याप्सुल नियन्त्रणमा लिएको छ।
फैसला कार्यान्वयन: अदालतको फैसला कार्यान्वयनतर्फ १७ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट कुल ११ वर्ष १ महिना ११ दिन कैद सजाय र रु. ४,९८,५००/- जरिवाना/क्षतिपूर्ति असुल गरिएको छ।
२. महिला, बालबालिका, महिला हिंसा तथा हराएका मानिसहरू
महिला तथा बालबालिका सम्बन्धी मुद्दा: ६ वटा मुद्दा दर्ता भई ५ वटा फछ्र्यौट भएका छन्।
उजुरी/निवेदन विश्लेषण: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी कुल ८३ वटा उजुरी परेका छन्, जसमध्ये सबैभन्दा बढी २० देखि ४० वर्ष उमेर समूहका (५९ जना) पीडित/पीडक रहेका छन्।
घरेलु हिंसा: घरेलु हिंसातर्फ ३८ वटा उजुरी दर्ता भएका छन्। सहमति मार्फत ४९ वटा (अघिल्ला महिनाका समेत) मिलापत्र गराइएको छ भने ५ वटा कानूनी प्रक्रियामा गएका छन्। स्थानीय तहगत रूपमा सबैभन्दा बढी घरेलु हिंसाका उजुरी वीरेन्द्रनगर नगरपालिका (३८ वटा) र भेरीगङ्गा नगरपालिका (३० वटा) मा देखिएका छन्।
ठाडो उजुरी: प्रहरी कार्यालयमा दर्ता ३१९ ठाडो उजुरीमध्ये ३१६ वटा फछ्र्यौट भइसकेका छन्।
हराएका र फेला परेका मानिस: महिनाभर ७० जना (महिला ३२, बालिका २६, बालक ११, ज्येष्ठ नागरिक १) हराएकोमा ६८ जना फेला परेका छन्।
३. आत्महत्याको स्थिति
असार महिनामा कुल १४ वटा आत्महत्याका मुद्दा दर्ता भएका छन्।
तरिका: १२ जनाले झुण्डिएर र २ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन्।
लिङ्ग र उमेर: मृतकहरूमा ७ पुरुष, ५ महिला, १ बालिका र २ बालक रहेका छन्। उमेर समूह अनुसार १९–२५ वर्ष (४ जना) र २६–४५ वर्ष (४ जना) मा यो दर बढी देखिएको छ।
४. सवारी दुर्घटना तथा शान्ति सुरक्षा
सवारी दुर्घटना: असार महिनामा कुल ४३ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी २५ जना गम्भीर घाइते र ४८ जना साधारण घाइते भएका छन्। दुर्घटनामा मुख्यतया मोटरसाइकल (२८), जिप/कार (८) र टेम्पो (७) बढी संलग्न पाइएका छन्।
प्रहरी गस्ती र चेकिङ: प्रहरीले महिनाभर कुल ५,५७२ पटक नियमित गस्ती (SRP, पैदल, मोबाइल, चेकिङ) गरेको छ।
सवारी कारबाहीबाट राजस्व: ट्राफिक नियम उल्लङ्घन गर्ने २,५६८ वटा सवारी साधनलाई कारबाही गरी रु. २३,८१,०००/- (तेइस लाख एकासी हजार) राजस्व दाखिला गरिएको छ।
५. राजस्व चुहावट, अवैध काठ र नदीजन्य पदार्थ नियन्त्रण
भन्सार छली: अवैध भन्सार छलीका रु. १,१९,२४८/- बराबरका सामानसहित १ जनालाई पक्राउ गरिएको छ।
अवैध काठ: रु. २९,०००/- बराबरको अवैध काठ बरामद गरी ३ जनालाई नियन्त्रणमा लिइएको छ।
नदीजन्य पदार्थ उत्खनन: गिट्टी-बालुवाको अवैध ओसारपसारमा संलग्न ३ वटा सवारी साधनलाई कारबाही गरी रु. २५,०००/- राजस्व संकलन गरिएको छ।
६. समुदाय-प्रहरी साझेदारी र जनचेतना
सुर्खेत प्रहरीले असार महिनामा १६१ वटा जनचेतनामूलक कार्यक्रम मार्फत कुल ४,७७३ जना नागरिकलाई प्रत्यक्ष लाभान्वित बनाएको छ।
प्रमुख कार्यक्रमहरू: लागूऔषध विरुद्ध (२३ वटा - १०७८ लाभान्वित), विपद् व्यवस्थापन (१७ वटा - ३७३ लाभान्वित), र साइबर अपराध/विद्युतीय अपराध (१० वटा - ४६१ लाभान्वित) सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
विद्यालय केन्द्रित कार्यक्रम: २४ वटा विद्यालयका ६ देखि १२ कक्षासम्मका १,३६७ जना विद्यार्थीहरूलाई लक्षित गरी सुरक्षा तथा चेतनामूलक कक्षा सञ्चालन गरिएको छ।
हटलाइन कल: प्रहरी हटलाइन तथा डि.ए. मा महिनाभर कुल २,३०६ वटा फोन कलहरू आएका छन्, जसमध्ये झै-झगडा/कुटपिट सम्बन्धी ३२८ वटा र प्रहरी परिचालन सम्बन्धी ३११ वटा कल रहेका थिए। (१,१४५ वटा कल मिसकल वा फेक कल रहेका थिए)।
७. नयाँ र सिर्जनात्मक पहलहरू
प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न गुनासो सम्बोधन, फ्रि-स्केलका सामग्री वितरण तथा लामो समय बिदा नबसेका कर्मचारीलाई अनिवार्य बिदा पठाउने व्यवस्था गरिएको छ। यस्तै, अपराध नियन्त्रण र सडक सुरक्षाका लागि:
वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा मूलगेट अगाडि 'हाई अल्ट्रालाइट' जडान गरिएको,
K9 शाखाको समन्वयमा 'Dog Snapping' मार्फत लागूऔषध तथा अपराध नियन्त्रण चेकिङ गरिएको,
सार्वजनिक सवारीका चालकहरूलाई 'Drugtest Kit' मार्फत विशेष जाँच गर्ने गरिएको, र
पैदल यात्रीको सुरक्षाका लागि जेब्राक्रसहरू निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।



