
मिति: २०७५/०९/१५
स्थान: काठमाडौं
सज्जन शिक्षिका अम्बिका कंडेलले अभिभावकहरुले छोराछोरीको अनुशासन, आचरण र अध्ययनप्रति बेवास्ता गर्दै विद्यालयमाथि अनावश्यक दबाब दिने प्रवृत्तिप्रति कडा आपत्ति जनाएकी छन्। उनीका अनुसार अभिभावकहरुले आफ्ना छोराछोरीको चरित्र निर्माणमा आवश्यक जिम्मेवारी नलिँदा विद्यालय र शिक्षकहरूलाई “यातना दिनेहरू” को रूपमा प्रस्तुत गरिन थालेका छन्।
शिक्षिकाका शब्दमा, “गृहकार्य दिदा पनि यातना भो रे, गृहकार्य नगरेको कुरा भन्नासाथ पनि यातना भो रे। किन छाडा भइस्, अनुशासनमा बस् भन्दा पनि यातना भो रे।”
उनले थप भनिन्, “गल्ति गर्दा छोराछोरी सम्झेर एक–दुई लपेटा दिए पनि यसलाई अभिभावकले यातना भन्ने गर्छन्। भोलि कपाल काटेर आउ भन्नेबित्तिकै पनि असन्तुष्टि देखाउँछन्। विद्यालयको पोशाक लगाएर आउ, समयमा आउ भन्नुस् — त्यतिले पनि आजकल अभिभावक रिसाउँछन्।”
कंडेलका अनुसार, अभिभावक स्वयंले बच्चाहरूको कमजोर बानीलाई प्रोत्साहन गर्ने गरेको पाइएको छ। “रातभर मोबाइलमा गेम खेल्न दिने, बिहान १०–११ बजेसम्म सुताउन दिने अनि अभिभावक स्वयंले ‘सुतिरहेको छ, आज स्कुल आउन सक्दैन’ भनेर बहाना बनाइदिने — यसले बच्चालाई अझ बिगारिरहेको छ।”
उनी भन्छिन्, विद्यालय र शिक्षकको भूमिकालाई ‘केयर टेकर’सँग दाँज्नु गलत बानी हुँदै आएको छ।
“हामी शिक्षक हौँ, केयर टेकर होइन। औपचारिक शिक्षाका संवाहक हौँ। तर अभिभावकहरुले आफ्ना बच्चाको आचरण, अनुशासन र समय व्यवस्थापनको जिम्मेवारी विद्यालयमाथि थोपर्न थालिसके।”
अभिभावकप्रति कडा सन्देश दिंदै कंडेल भन्छिन्,
“हाम्रोबाट वकालत नगराउनुस्। आफ्नै बच्चालाई आफैं सुधार्नुस्। आवश्यक छ भने घरमै राख्नुस् र सरकारसँग घरघरमा शिक्षक पठाइदिन आग्रह गर्नुस्। शिक्षकको काम शिक्षा दिनु हो, बिग्रेका आचरण सुधार्ने सुधार केन्द्र चलाउनु होइन।”
उनीका अनुसार विद्यालयको उद्देश्य शिक्षाको गुणस्तर बढाउनु हो, अनुशासनहीन बानी सुधार्ने ‘पुनर्सुधार गृह’ होइन।
उनले अन्त्यमा अभिभावकलाई स्मरण गराइन् —
“विद्यालय सुधार केन्द्र होइन, आफ्नै बच्चा आफैँ सुधार्नुस्।”



