
बर्दिया — बर्दियाको गेरुवा गाउँपालिका–६ सोनाहाफाँटस्थित सिँचाइ कुलोमा मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ। मृतक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ चिसापानी बस्ने २७ वर्षीया उमा ज्ञवाली रहेको पुष्टि भएको छ। भदौ २६ गते दिउँसो करिब ४:४५ बजे मनाउबाट टपरातर्फ जाने सिँचाइ कुलोको पानीमा उत्तानो परेको अवस्थामा स्थानीय ५१ वर्षीय तीर्थबहादुर सुनारले शव देखेपछि पानीबाट निकालेर कुलोको पूर्वी किनारमा राखी प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पाताभारबाट प्रहरी निरीक्षक भोपेन्द्रकुमार बुढाथोकीको कमान्डमा SOCO (अपराध स्थल अनुसन्धान) टोलीसहित ७ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धान तथा मुचुल्का उठाएर साँझ ७:०० बजे शवलाई परीक्षणका लागि बर्दिया अस्पताल गुलरिया पठाएको थियो। भदौ २७ गते अपराह्न ४:०० बजे मृतकका श्रीमान् ३३ वर्षीय सुभाष न्यौपानेले अस्पताल पुगेर शवको सनाखत गरेका हुन्। पारिवारिक स्रोत र प्रहरीका अनुसार ज्ञवाली भदौ २५ गते साँझ ५:३० बजे घरबाट हराएकी थिइन्। उनी मानसिक रूपमा अस्वस्थ रहेको र डिप्रेसनको औषधि सेवन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ।

दैलेख, २५ भाद्र । दैलेखको भगवतीमाई गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। भगवतीमाई गाउँपालिका वडा नं. २ खोप बजार बस्ने ३८ वर्षीया ज्वाला शाहीको सुनखोला तर्ने क्रममा बगेर मृत्यु भएको हो। प्रहरीका अनुसार बेस्तडा बजारबाट आफ्नो घरतर्फ जाँदै गरेकी शाहीलाई बिहीबार साँझ करिब ५:३० बजेको समयमा सुनखोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोलामा डुबेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन्। घटना लगत्तै स्थानीयवासीले टेलिफोनमार्फत प्रहरी चौकी बेस्तडामा जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको र प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाइएको छ।

सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिका–४ स्थित घुमाउने नजिकै भेरी नदीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ। बुधबार (भदौ २ गते) साँझ करिब ५:४५ बजेको समयमा नदीमा करिब २५ देखि ३० वर्ष उमेर जस्तो देखिने पुरुषको शव तैरिरहेको अवस्थामा स्थानीय नविन काफ्लेले देखेपछि अस्थायी प्रहरी पोष्ट तरंगामा खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट तरंगाका प्रहरी सहायक निरीक्षक (प्रसनि) कृष्ण बहादुर बिष्टको कमाण्डमा ३ जनाको प्रहरी टोली साँझ ६:२० बजे घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट प्रहरी निरीक्षक (प्रनि) भुपेन्द्र शाहीको नेतृत्वमा ७ जनाको टोली खटिएको प्रहरीले जनाएको छ। उक्त घटनास्थल अस्थायी प्रहरी पोष्ट तरंगाबाट करिब ३ किलोमिटर पश्चिम र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट करिब ४५ किलोमिटर पूर्व-दक्षिणमा पर्दछ। प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी राति ११:०० बजे पोष्टमार्टमका लागि शव प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाएको थियो। शवलाई भदौ ३ गते बिहान १:१० बजे अस्पतालको शव गृह (Mortuary) मा राखिएको छ। मृतकको पहिचान अझै हुन सकेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र मृतकको सनाखतका लागि प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

सुर्खेत, २७ साउन । सुर्खेतमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौकुने गाउँपालिका–१० चालिखेकी ५८ वर्षीया देउमा कामी रहेकी छिन्। बुधबार बिहान ५:४५ बजेतिर आफ्नै घरमा भाँडा माझ्ने क्रममा देउमालाई सर्पले दायाँ हातको चोर औलामा टोकेको थियो। सर्पले डसेलगत्तै उपचारका लागि बिहान १०:३५ बजे उनलाई कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत ल्याइएको थियो। अस्पताल पुर्याउनासाथ बिहान १०:४० बजे चिकित्सकले चेकजाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका हुन्। मृतकको साथमा उनकी छोरी पवित्रा बि.क. रहेकी छिन्।

सुर्खेत, ८ साउन । सुर्खेतको गुर्भाकोट नगरपालिका–१ काल्चेका ६७ वर्षीय चित्रबहादुर पुन मगर रुखबाट खसेर गम्भीर घाइते भएका छन्। शुक्रबार (आज) दिउँसो करिब ३:०० बजेको समयमा आफ्नै घर नजिकै रहेको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक सन्तुलन गुमाई उनी रुखबाट तल खसेका थिए। रुखबाट खसेर टाउकोमा गम्भीर चोट लागेका पुनलाई तत्कालै दिउँसो ३:३० बजे उपचारका लागि मेहेलकुना अस्पताल सुर्खेत पुर्याइएको थियो। अस्पतालमा प्राथमिक उपचार पश्चात् अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। घाइते पुनको साथमा उनका छोरा कृष्ण पुन रहेका छन्।

सुर्खेत, साउन ६ । सुर्खेतको लेकबेशी नगरपालिकामा निर्माणाधीन एक विद्यालयको सभाहलमा काम गर्ने क्रममा करेन्ट लागेर एक जना युवक घाइते भएका छन्। घाइते हुनेमा जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा नं. २ फलाटे बस्ने ३० वर्षीय कृष्ण बुढा रहेका छन्। इलाका प्रहरी कार्यालय लेकबेशीका अनुसार मङ्गलवार (साउन ६ गते) साँझ करिब ७:०० बजेको समयमा लेकबेशी नगरपालिका–४ दशरथपुरस्थित श्री जीवनज्योति माध्यमिक विद्यालयको निर्माणाधीन सभाहलको छानामुनि प्लाइबोर्डमा ग्राइन्डर मेसिनले ठोकछाक गर्ने क्रममा बुढालाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेपछि भवनबाट तल खस्दा उनी घाइते भएका हुन्। घाइते बुढाको दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको र हाल सोही अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलको अवस्था र घाइतेको उपचारमा ठेकेदार सुरज थापा संलग्न रहेको प्रहरीले जनाएको छ।

दैलेख/सुर्खेत — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ खाडामा सर्पको टोकाइ (शङ्कास्पद) बाट एकै परिवारका आमा-छोराको मृत्यु भएको छ। गम्भीर घाइते भई प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचाररत २७ वर्षीया कमला रावलको मङ्गलबार (साउन ६ गते) बिहान ६:२५ बजे मृत्यु भएको हो। यसअघि उनका ९ वर्षीय छोरा आयुष रावलको साउन ४ गते नै उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको थियो। भुइँमा सुतेका बेला डसेको आशङ्का प्रहरीका अनुसार साउन ३ गते राति घरको माथिल्लो तलाको कोठामा भुइँमा ओछ्यान लगाएर आमा-छोरा सुतेका थिए। साउन ४ गते बिहान उठ्दा दुवै जनालाई रिङ्गाटा लाग्ने र शरीर झमझमाउने जस्ता स्वास्थ्य समस्या देखिएका थिए। लक्षण देखिएलगत्तै दुवै जनालाई उपचारका लागि स्थानीय शाही मेडिकल साङ्गेतारा लैजाँदै गर्दा बालक आयुष रावलको साउन ४ गते बिहान ९:०० बजे बाटोमै मृत्यु भएको शाही मेडिकलले घोषणा गरेको थियो। सुर्खेतमा उपचारका क्रममा आमाको पनि निधन बालकको मृत्युपछि गम्भीर अस्वस्थ रहेकी कमला रावललाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइएको थियो। जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत रिफर गरिएको थियो। चिकित्सकहरूले लक्षणका आधारमा सर्पले डसेको हुन सक्ने आकलन गरेका थिए। प्रदेश अस्पताल सुर्खेत पुर्याएर भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा उपचारकै क्रममा साउन ६ गते बिहान कमलाको पनि ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीद्वारा अनुसन्धान जारी घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज पौडेलको कमाण्डमा ५ जनाको टोली, प्रहरी चौकी जम्बुकाधबाट प्रहरी सहायक निरीक्षक दमन कठायतको कमाण्डमा २ जना र प्रहरी चौकी पालतडाबाट प्रहरी सहायक हवल्दार भरत बुढाथोकीको कमाण्डमा २ जनाको प्रहरी टोली खटिएको थियो। प्रहरी टोली घटनास्थल पुग्दा मृतक बालकको शव बुवा बखत रावलले घाटमा लगेर दाहसंस्कार गरिसकेको पाइएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

सुर्खेत, ४ साउन । सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर १ तालागाउँस्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव चार दिनपछि कैलालीमा फेला परेको छ । गत असार ३१ गते दिउँसो नदीमा डुबेर बेपत्ता भएका बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय रामबहादुर भण्डारीको शव कैलालीको टीकापुरमा फेला परेको हो । मृतक भण्डारी चौकुने गाउँपालिका-१ तालागाउँका प्रेमबहादुर साउदको लु ३ च ७६५२ नम्बरको बोलेरो गाडीका चालक हुन् । असार ३१ गते दिउँसो ३ बजेतिर स्थानीय तीन जना साथीहरूसँग कर्णाली नदीमा पौडी खेल्ने क्रममा उनी अचानक नदीमा डुबेर बेपत्ता भएका थिए । चार दिनसम्म व्यापक खोजी भण्डारी बेपत्ता भएलगत्तै अस्थायी प्रहरी पोष्ट लगाम र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा टोली खटिएको थियो । साउन ३ गतेसम्म सुर्खेतका ६ वटा प्रहरी बुथ (लगाम, बिजौरा, तातापानी, घाटगाउँ) र सशस्त्र प्रहरी बल (APF) गुटु क्याम्पका सुरक्षाकर्मीहरूले नदी किनारका विभिन्न क्षेत्रमा व्यापक खोजी गरिरहेका थिए । कैलालीको श्रीलंका टापुमा फेला, आफन्तद्वारा सनाखत शनिबार (साउन ३ गते) दिउँसो २ बजेतिर कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकास्थित कर्णाली नदीको बीच टापुमा एक पुरुषको बेवारिसे शव फेला परेको थियो । प्रहरी चौकी सत्ती र इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (DSP) प्रकाश डाँगीको कमाण्डमा खटिएको टोलीले शव नियन्त्रणमा लिई पोस्टमार्टमका लागि टीकापुर अस्पताल पुर्याएको थियो । शनिबार राति ८ बजे उक्त शव बेपत्ता चालक रामबहादुर भण्डारीकै भएको भनी त्रिवेणी नगरपालिकाका वडाध्यक्ष र मृतकका काका राजेन्द्र भण्डारीले सनाखत गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

सुर्खेत, ३ साउन । सुर्खेतको वीरेन्द्रनगरबाट तीन दिनदेखि बेपत्ता भएका एक वृद्ध जंगलमा मृत फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ दौलतपुर बस्ने ६७ वर्षीय लालबहादुर सुनार यही असार ३२ गते बिहान ८:०० बजेदेखि घरपरिवारलाई कुनै जानकारी नदिई निस्किएका थिए। निज घर नफर्किएपछि आफन्त र प्रहरीले उनको खोजी कार्य तीव्र पारेका थिए। खोजी गर्ने क्रममा आज साउन ३ गते दिउँसो १२:२० बजेको समयमा वीरेन्द्रनगर-२ स्थित निकासखोलाको जंगलमा सुनार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) टीकाराम थापाको कमाण्डमा खटिएको टोली र आफन्तजनले संयुक्त रूपमा खोजतलास गर्दा उनलाई फेला पारेका थिए। घटनास्थलमा सुनारलाई झुण्डिएको (आत्महत्या गरेको) अवस्थामा फेला पारेपछि टोलीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जानकारी गराएको थियो। लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक (प्रनि) दीपक मगराठीको कमाण्डमा सोको (SOCO - Scene of Crime Officer) सहित ५ जनाको विशेष प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। प्रहरीले घटनास्थलको मुचुल्का संकलन गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

जाजरकोटको नलगाड नगरपालिकामा ग्यास लिक भई आगलागी हुँदा तीन जना गम्भीर घाइते भएका छन्। नलगाड नगरपालिका–२ छेप्कास्थित थालु प्रसाद जैशीको घरमा आइतबार बिहान करिब १० बजेको समयमा आगलागी भएको हो। भान्छा कोठामा ग्यास चुहावट भइरहेको अवस्थामा माया जैशीले लाइटर बाल्दा अचानक आगो सल्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा घाइते हुनेहरू: ४२ वर्षीया माया जैशी २२ वर्षीय गणेश गौतम (छोरा) ३७ वर्षीया रुपा जैशी जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एक बहादुर नेपालीका अनुसार घाइतेहरूको हाल नलगाड नगर अस्पतालमा उपचार भइरहेको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइसकिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

पाकिस्तान । दक्षिणी बन्दरगाह सहर कराची मा परेको अविरल वर्षा र आँधीबेहरीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार भारी वर्षाका कारण पूर्वाधारमा क्षति पुग्दा विभिन्न स्थानमा दुर्घटना भएका हुन्। कराचीको बलदिया टाउन क्षेत्रमा पर्खाल ढल्दा ११ जनाको ज्यान गएको पुष्टि भएको छ। त्यस्तै कायद आबाद क्षेत्रमा घरको छत खस्दा एक दम्पतीको मृत्यु भएको छ भने अन्य स्थानमा थप ६ जनाले ज्यान गुमाएका छन्। कराचीका मेयर मुर्तजा वहाबले सहरमा तीव्र हावा सहितको वर्षा जारी रहेको बताउँदै सर्वसाधारणलाई आवश्यक नपरेसम्म बाहिर ननिस्कन आग्रह गरेका छन्। सहरका धेरै स्थानमा पानी जम्दा यातायात र दैनिक जनजीवन प्रभावित बनेको छ। यसैबीच, सिन्ध प्रान्तका अधिकारीहरूले उच्च सतर्कता अपनाइएको बताएका छन्। मौसम विभागले पश्चिमी मौसम प्रणालीको प्रभावका कारण बिहीबारसम्म थप वर्षा, हावा र आँधीबेहरीको सम्भावना रहेको जनाएको छ।

जापान विश्वमै सबैभन्दा धेरै भूकम्प अनुभव गर्ने देशहरूमध्ये एक हो। यहाँ प्रायः दैनिक रूपमा साना–ठूला भूकम्प महसुस हुने गर्छन्। यसको प्रमुख कारण जापानको भूगर्भीय संरचना र टेक्टोनिक प्लेटहरूको गतिविधि हो। पृथ्वीको बाहिरी सतह धेरै ठूलो–ठूलो प्लेटहरूमा विभाजित हुन्छन्, र यी प्लेटहरू एक–अर्कासँग टकराउने, छुट्टिने वा घस्रिने कारणले भूकम्प उत्पन्न हुन्छ। जापान यिनै प्लेटहरूको अत्यन्त सक्रिय भेटघाट–बिन्दुमा अवस्थित छ। जापानका चार प्रमुख टेक्टोनिक प्लेटहरू—प्यासिफिक प्लेट, फिलिपिन सागर प्लेट, युरेशियन प्लेट र उत्तर अमेरिकन प्लेट—यहाँका भूकम्पहरूको मुख्य स्रोत हुन्। विशेषगरी, प्यासिफिक प्लेट पश्चिमतिर सर्दै युरेशियन तथा फिलिपिन सागर प्लेटको तल घुस्दै जाने प्रक्रियालाई सबसडक्शन भनिन्छ। यही सबसडक्शन क्षेत्र जापानको भूकम्पीय गतिविधिको केन्द्र हो। प्लेटहरू एक–अर्कामा फस्ने र अचानक छुट्ने क्रममा विशालत ऊर्जा निस्कन्छ, जसले जमिनलाई कम्पन गराएर भूकम्प उत्पन्न गर्छ। जापानी द्वीपसमूहको पूर्वी भागमा प्यासिफिक प्लेटले ठूलो मात्रामा दबाब सिर्जना गर्ने हुँदा यहाँ प्रायः शक्तिशाली समुद्री भूकम्पहरू आइरहन्छन्। यस्ता भूकम्प समुद्रमा गहिराइमा हुने भएकाले प्रायः सुनामी पनि निम्त्याउने गर्छन्। २०११ सालको तोहोकू भूकम्प र त्यसपछिको सुनामी यही प्रक्रियाको उदाहरण हो। यस्तो प्रकारका समुद्री भूकम्पले क्षति व्यापक बनाउँछ, जसका कारण जापानले उन्नत भूकम्प पूर्वचेतावनी प्रणाली र कठोर निर्माण मापदण्ड निर्माण गरेको छ। फिलिपिन सागर प्लेटको गतिविधिले पनि जापानको दक्षिण–पश्चिम भागलाई बारम्बार प्रभावित पार्दछ। यो प्लेटको उत्तरतिरको सर्ने प्रक्रियाले क्युशु, शिकोकु र होन्शुका केही क्षेत्रमा मध्यमदेखि ठूला भूकम्प हुँदै आएका छन्। युरेशियन र उत्तर अमेरिकन प्लेटको सीमाक्षेत्र होक्काइडो क्षेत्रमा पनि भूकम्पीय गतिविधि तीव्र देखिन्छ। नेपालका हिमालहरू जस्तै, जापानका पर्वतहरू पनि लाखौँ वर्षदेखि चलिरहेका प्लेटहरूको दबाबबाट नै बनेका हुन्, र यो भूगर्भीय सक्रियताले अझै पनि जापानलाई सताइरहेछ। जापानमा भूकम्प धेरै हुने अर्को महत्वपूर्ण कारण भनेको फोल्ट लाइनहरूको उच्च संख्या हो। भूमिगत चिरा वा फोल्टहरू यस्ता क्षेत्र हुन् जहाँ प्लेटहरू वा भूभागहरू निरन्तर तनाबमा रहन्छन्। जापानमा यी सक्रिय फोल्टहरू हजारौँमा छन्, जसले साना–ठूला भूकम्पको शृङ्खला बढाउँछन्। फोल्टहरू सक्रिय रहेसम्म भूकम्प हुने सम्भावना पनि उत्तिकै प्रबल रहन्छ। संक्षेपमा भन्नुपर्दा, जापानमा भूकम्प जानु कुनै संयोग होइन। यसको भूगर्भीय अवस्था, टेक्टोनिक प्लेटहरूको लगातार चलायमानता, सबसडक्शन क्षेत्रहरूको सक्रियता र असंख्य फोल्ट लाइनहरूको उपस्थिति नै भूकम्पका प्रमुख कारण हुन्। यिनै कारणहरूले जापानलाई भूकम्प–जोखिमका दृष्टिले उच्च जोखिमयुक्त बनाएको छ। यद्यपि, उन्नत प्रविधि, कडा निर्माण प्रणाली र जनचेतनाले जापानले भूकम्पजन्य क्षतिलाई धेरै हदसम्म कम गर्न सफल भएको छ।

जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीका साना छालहरू आउन सुरु एजेन्सी : जापानको आओमोरी प्रान्त नजिकै ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्प लगत्तै जापानको मौसम विज्ञान विभागले आओमोरी, इवाते र होक्काइडो प्रान्तमा सुनामीको चेतावनी जारी गरेको छ। भूकम्प स्थानीय समय अनुसार राति ११:१५ बजे गएको हो। सुरुमा यसको तीव्रता ७.६ म्याग्निच्युड बताइए पनि पछि ७.५ मापन गरिएको थियो। भूकम्पको केन्द्रविन्दु जापानको तटभन्दा ७० किलोमिटर टाढा समुद्रमा ५० किलोमिटर गहिराइमा रहेको बताइएको छ आओमोरीमा सुनामीका साना छालहरू आउन सुरु भइसकेका छन्, जसको उचाइ हाल ४० सेन्टिमिटरसम्म छ। तर, एजेन्सीले जापानको उत्तर-पूर्वी तटहरूमा ३ मिटरसम्म अग्ला खतरनाक छालहरू आउन सक्ने चेतावनी दिएको छ। भूकम्पका कारण आओमोरी प्रान्तका २७ सय घरमा बिजुली आपूर्ति बन्द भएको छ। आओमोरी सहरमा आगलागीका दुईवटा घटनाहरू पनि रिपोर्ट गरिएका छन्। यसका साथै, आओमोरीमा सडक भत्किँदा एक जना घाइते भएका छन् भने होक्काइडोमा लडेर दुई जना घाइते भएको खबर प्राप्त भएको छ। मंसिर २३, २०८२ मंगलबार ०७:४१:३५ मा प्रकाशित

नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशका प्रथम सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीको निधन भएको छ। सुर्खेत कांग्रेसका प्रभावशाली नेताका रूपमा परिचित स्वर्गीय बिसीको पार्थिव शरीरलाई आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। उहाँको शवयात्रा आज बिहान १० बजे वीरेन्द्रनगर नगरपालिका-२, भुरेलीस्थित निजी निवासबाट सुरु भई रानीघाटमा अन्त्येष्टि गरिनेछ। कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्मा रहेर सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएका बिसीको निधनले पार्टी र समग्र कर्णाली प्रदेशलाई अपूरणीय क्षति पुगेको छ।

दक्षिण एसियाली राष्ट्र श्रीलंकामा अविरल मनसुनी वर्षाका कारण आएको विनाशकारी बाढी र पहिरोले १३० जनाभन्दा बढीको ज्यान लिएको छ भने सयौँ मानिसहरू बेपत्ता भएका छन्। देशको दक्षिणी तथा पश्चिमी क्षेत्रमा परेको भीषण वर्षाले जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनाएको छ। विशेषगरी रत्नापुरा, कालुतारा र मतारा जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्, जहाँ हजारौँ घरहरू डुबानमा परेका छन् र सयौँ पहिरोहरू खसेका छन्। बाढीले सडक र सञ्चार सञ्जाल ध्वस्त पारेपछि उद्धार कार्यमा समेत गम्भीर कठिनाइ उत्पन्न भएको छ। विपत्तिको गम्भीरतालाई मध्यनजर गर्दै श्रीलंका सरकारले तत्कालै राष्ट्रिय आपतकालको घोषणा गरी प्रभावित क्षेत्रमा सेना, नौसेना र वायुसेनालाई उद्धार तथा राहत कार्यमा परिचालन गरेको छ। यो प्राकृतिक प्रकोपबाट करिब पाँच लाख मानिस विस्थापित भएका छन्, जसलाई सुरक्षित स्थानमा अस्थायी शिविरहरूमा सारिएको छ। पिउने पानीको अभाव र सरुवा रोगको जोखिमले मानवीय संकट थप गहिरिएको छ। श्रीलंका सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेपछि भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिकालगायत विभिन्न देशहरूले राहत सामग्री र उद्धार टोली पठाएर सहयोग गरेका छन्। पछिल्ला केही दशकयताकै सबैभन्दा ठूलो मानिएको यो विपत्तिले श्रीलंकाको मनसुन प्रतिकार्य योजना र पूर्वाधारको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।